
दमौली ,१४ माघ ।
म्याग्दे गाउँपालिकाको आयोजनामा वडा न ४ मा गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेड्पा) को वडा स्तरिय अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
म्याग्दे गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले अभिमुखिकरण कार्यक्रमको उद्घाटन गर्दै लघु, घरेलु तथा साना उद्यमी सृजना गर्ने गरि कार्यक्रम सञ्चालन हुने बताइन् । अध्यक्ष रानाले लघु घरेलु तथा साना उद्योगको विकास र विस्तार अहिलेको आवश्यकता रहेकाले सीप सिकाएर उद्यमी सृजना गर्ने संगै दिगो आर्थिक विकास हुने धारणा व्यक्त गरेकी थिइन ।
त्यस्तै गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रमबाट गाउँ पालिकामा नयाँ उद्यमी सृजनाका कार्यक्रम निकै प्रभावकारी हुने प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले बताए । लघु, घरेलु, तथा साना उद्योगहरू सचालन गर्न सीप सिके पश्चात कम लगानीमा घर घरमै उद्योग सञ्चालन गर्न सकिने प्रमुख प्रशासकीय अधिकृत अधिकारीले बताए । सो अवसरमा उनले कार्यपत्र प्रस्तुत गर्दै मेड्पा कार्यक्रमको बारे प्रष्ट पारेका थिए ।
त्यसैगरी कार्यपालिका सदस्य वर्दिका घिमिरेले सीप सिके पश्चात घरेलु उद्योग घरमा नै बसेर सञ्चालन गर्न सकिने भएकाले यस तर्फ लाग्न महिलारूलाई आग्रह गरिन् । गरिबी निवारणका लागि लघु उद्यम विकास (मेड्पा) कार्यक्रम सञ्चालन प्रकृया बारेमा जानकारी दिन आयोजित प्रशिक्षण कार्यक्रममा जनप्रतिनिधिहरू, नागरिक समाजका प्रतिनिधि, उद्यमी, कर्मचारी लगायत लाई कार्यक्रम बारे जानकारी दिने उद्देश्यका साथ प्रशिक्षण कार्यक्रम आयोजना गरिएको उद्योग विकास शाखा प्रमुख प्रदिप न्यौपानेले जानकारी दिए । वडा स्तरमा सचालित घरधुरी सर्वेक्षण, उद्यमशिलता तालिम, सीप विकास तालिम, वजार सञ्जाल, वचत परिचालन लगायतका विषय जानकारी गराई नयाँ उद्यमी ९० र स्तरोन्नति ५० गरि १ सय ३० उद्यमी यस वर्ष सृजना गर्ने लक्ष्य रहेको न्यौपानेले जानकारी दिए । वडा नं. ४ मा ३० जना नयाँ उद्यमी सृजना हुनेछन् । अभिमुखिकरण कार्यक्रम वडा न ४ का अध्यक्ष प्रेम वहादुर आलेको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रम गाउँपालिकाका पवन कुमार तिवारीले सञ्चालन गरेका थिए ।