
दमौली ,७ माघ ।
सवारीको अत्यधिक चाप हुने समयमा दमौलीमा टान्सर्पोटबाट आएका, समान विक्री गर्ने साधनहरु लोड तथा अनलोडको गर्न नपाईने भएको छ । ‘‘कार्यालय समय’’ लागू गरी विहान ९ बजे देखि १०ः१५ बजे र दिउँसो ३ः ३० बजे देखि ४ बजे सम्म नपाईने नियम बनाईएको छ ।
तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार इकाईको आयोजना र जिल्ला ट्राफिक प्रहरी कार्यालयको सहआयोजनामा मंगलबार दमौलीमा गरिएको सरोकारवालाहरुकासँगको छलफलबाट कार्यालय समय लागू गर्ने सहमती भएको छ । दुर्घटना न्यूनिकरणका साथ साथै गण्डकी प्रदेशकै उत्कृष्ट ट्राफिक व्यवस्थापन गर्ने उद्धेश्यले कार्यालय समय लागू गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख रेशम रानाभाटले जानकारी दिए । कार्यालयको काममा आउने, विद्यालयमा आउने, किनमेलका लागि आउनेहरुको सङ्ख्या उक्त समयमा धेरै भएको हुँदा सवारी चाप हुने भएकोले कार्यालय समय लागू गरिएको उनले । ‘सवारी चाप हुने समयमा बाटोमा हिड्ने यात्रुलाई पनि बाटो काट्न कठिन भएको पाईयो यस्ता समस्या समाधानको लागि सरोकारवालासँग छलफल गरि लागू गरेका हौं’ ट्राफिक प्रमुख रानाभाटले भने । कार्यक्रममा प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य देबकुमार श्रेष्ठले चालक तथा सहचालकलाई पनि सचेत बनाउन जोर, बिजोर आलोपालो सञ्चालन गरि तालिम प्रदान गर्नु पर्ने बताए ।
‘विकसित देशमा हातमा घडी हेरेर समय अनुसार चल्छन् तर हामी समयलाई आफ्नो अनुकुल अनुसार चलाएका छौं सुध्रिनु जरुरी छ’ केन्द्रीय सदस्य श्रेष्ठले भने । साथै उनले रोक्नु पर्ने सवारी साधनहरु सडकमा राख्ने परिपाटीको अन्त्य गर्न नसकिएको र बस पार्कमै लगेर राख्नु पर्नेलाई कडाईका साथ नियम कार्यान्वयन गर्नु पर्ने बताए । कार्यक्रम तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार इकाईका अध्यक्ष राजकुमार श्रेष्ठ राकुको अध्यक्षतामा भएको थियो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिना, व्यास नगरपालिका वडा नम्बर २ का वडाअध्यक्ष काशीराम श्रेष्ठ, व्यास नगरपालिका शिक्षा शाखाका प्रमुख नगेन्द्रराज रेग्मी लगायतले ट्राफिक नियमको पालनाले दुर्घटना न्यूनिकरण तथा सभ्य सहर निर्माणको लागि मद्धत पुग्ने हुँदा हेलचेक्राइं गर्न नहुने कुरामा जोड दिएका थिए ।