
वर्तमान युग सूचना र प्रविधि युग हो । प्रविधिले गर्दा विश्वका जुनसुकै कुनाको सूचनामा भएपनि छिन भरमा नै जानकारी पाउन सकिने अवस्था छ । तर दुरभाग्य व्यास नगर कार्यपालिकाले गत मंसिर २५ गते गरेको निर्णय १ सय १ दिन पछि मात्र आएर सर्वसाधारणले जानकारी पाएका छन् । यसबाट के स्पष्ट हुन्छ सूचना प्रवाह गर्ने विषयमा व्यास नगरपालिकामा कति ढिलासुस्ती रहेछ भनेर । हुन त व्यास नगरपालिकाको बार्षिक कार्य योजना हेर्ने हो भने सूचना र प्रविधिमा निकै फड्को मारेको तथ्याङक भेटिने गर्दछ ।विगतको तुलनामा थुप्रै उपलब्धिहरु पनि भएका छन् ।जसलाई सकारात्मक हिसाबले हेरिनु पर्दछ ।तर पछिल्लो घटनाक्रमले नगरपालिका अझै पनि ढुङगे युगमा रहेको अनुभूति आम नगरबासीले गरेको अवस्था छ । यदि त्यसो नहुँदो त नगरपालिकाले गरेको उक्त निर्णय थाहा पाउन नगरबासीले यति लामो समय कुर्नुपर्ने थिएन ।
यसका साथ—साथै नगरपालिकाको कार्यपालिका बैठकले ललितपुर महानगरपालिका वडा नं १५ तल्छीखेत निवासी पशुपति अन्नपूर्ण आश्रमका अध्यक्ष डा.जगदिश वैद्यलाई नगरपालिकाको प्रमुख सल्लाहकारमा नियुक्त गर्ने जुन निर्णय गरेको छ ।त्यो आफैमा विरोधाभाष पूर्ण छ ।किनकि व्यास नगरपालिकाको स्थापना काल देखि हालसम्मको अवधिलाई हेर्ने हो भने डा. वैद्यले उल्लेखनीय योगदान पुरयाएको कुनै रेर्कड भेटिदैन । यसरी नगरपालिकालाई बिना योगदान गरेका व्यक्तिलाई प्रमुख सल्लाहकार त्यसमा पनि स्वेच्छाले नगरपालिकामा तस्बिर हटाउन नचाहे सम्मको अवधि सम्मका लागि प्रमुख सल्लाहकार मनोनित गरिनु कहाँसम्मको लज्जाजनक विषय हो ?यसको जवाफ सिङगो नगर कार्यपालिका बैठकले दिनुपर्दछ । हो नगरपालिकाले आवश्यक परेको खण्डमा विशिष्ट पहिचान बनाएका व्यक्तिहरुलाई सल्लाहकारमा नियुक्त गर्न सक्दछ ।सायद, डा.वैद्य पनि विशिष्ट पहिचान भएका व्यक्ति भित्र पर्न सक्दछ ।तर वर्तमान नगर कार्यपालिकाका सदस्यहरुले के हेक्का राख्नुपर्दछ भने नगरपालिका अस्तित्व र नगरबासीको इमानमा ठेस पुग्ने हिसाबले कुनै पनि निर्णय गरिनु हुँदैन । डा. वैद्यको सन्र्दभमा पनि निश्चित समयका लागि नगरपालिकाले प्रमुख सल्लाहकारमा मनोनित गर्न सक्दथ्यो ।तर आजीवन शैलीमा जुन हिसाबले मनोनित गरिएको छ ।त्यो सरासर त्रुटिपूर्ण छ ।यस विषयमा नगरपालिकाले निर्णय सच्याउनु जरुरी देखिन्छ ।
सेतीमादी दैनिकको चैत ११ को सम्पादकीय